कविताको शिर्षक:-सडकमा बाल दिवस
उ आयो
बोराभरी भरी भरेर
स-साना बच्चाले पहिलोचोटि
नबुझिने गरि लेखेका
किरिङमिरिङ अक्षर जस्तै
किरिङमिरिङ सपना बोकेर
टक्क रोकिए उसका धर्मरिएका पाइलाहरु
जहाँ ऊ कैयौं वर्षदेखि रोकिन थालेको थियो
जहाँ हरेक वर्ष यसै दिन
सजाइन्छ नया बेहुलीलाई झै स्टेज
जहाँ सजिन्छन कैयन् सजीव मूर्तिहरू
विभिन्न ट्याग सिउरिएर
अनि सजिन्छन्
केही थान खुशीहरु
केही थान उत्साहहरु
केही थान भाषणहरु
केही थान प्रतिज्ञाहरु
केहि थान तालीका गडगडाहटहरु
अनि अलि पर उभिन्छ उ
हतारिँदै हतार हतारमा
फोहोर टिप्न हतारिएका
जोडी पैतालाहरु सम्हालेर
हो यही हो त्यो सडक
जहाँ
एक बर्ष अगाडि पनि
आयोजना भएको थियो
आजको कार्यक्रम
जहाँ
चिच्याएका थिए कैयौँ भाषणहरु
हल्ला गरिरहेका थिए कयौं प्रतिज्ञाहरू
अनि
बुर्कुसी मारीरहेका थिए कागजहरु
जसका छातीमा कोरिएका थिए
लाखौं बाल भबिस्य साथै लाखौको बजेट
र पनि
आज फेरि उ उभिएको छ
त्यो सडकमा
त्यही पुरानो कहालीलाग्दो अवस्थामा
मनभरी बोकेर सपनाको महल
आजको नया बाल दिवस कार्यक्रमको पुछारमा
उ हिड्न लागेदेखी
हिड्न लागेको सडक हो यो
उ बुझ्ने भएदेखी
बुझ्न लागेको सडक हो यो
उ देख्ने भए देखि
देख्न लागेको कार्यक्रम हो यो
तर
उसलाई कसैले देखेन
उसलाई कसैले बुझेन
उसलाइ कसैले सुनेन
उ बारम्बार यहि सोच्न बाध्य हुन्छ
आखीर यो कार्यक्रम कसका लागी?
यो दिवस कसका लागि?
स्टेजको छेउमा बसि ताली पिट्नेहरुको लागि
या
कार्यक्रम सकिएपछि फोहिर टिप्ने हरुको लागि?
या फेरि दुबैको लागि?
यदि मेरो लागि पनि हो भने
मेरो बाल दिवस कस्तो हुन्छ देखाइदिनुस न हजुर
सडकलाई बिस्तारा
ढुङ्गालाई सिरानी
आकासको सिरक बनाएर
र छातिलाइ सपनाको सिसिडोल बनाएर
सुत्ने उसलाई
बाल दिवस कहिले आफ्नो लागेन
बाल दिवसको दिन झिलिमिली दिन
अनि भोलिपल्टदेखिको भोको रातले
उसलाई कहिले महसुस हुन दिएन
बाल दिवस बाहेक अरु दिन पनि उसको हो भनेर
आज पनि सकिनेछ कार्यक्रम पहिलको झै
अन्तिम भाषण सहित
अन्तिम प्रतिज्ञा सहित
अन्तिम मन्तव्य सहित
आउने अर्को वर्षसम्मका लागि
र उ फेरि फर्किने छ त्यहाबाट आजपनी
एउटा सपना बोकेर
अनि उहीँ पुरानो सवाल बोकेर
यदि
भोलिका दिनहरुमा
धरहरा या सडकका छेउछाउमा
कोखेलोमा धमिराएको
सपना बोकेर
धरमराउदै हिडेका नाङ्गा पाइतालाहरु
देख्नु भयो भने चाहिँ के गर्नु हुन्छ??
©अजय बिक'सीमान्त'
0 Comments